वैशाख १२ गते काष्ठमण्डप निर्माणको घोषणा हुने

Kasthamandap > Uncategorized > वैशाख १२ गते काष्ठमण्डप निर्माणको घोषणा हुने -->

काठमाडौं । भूकम्पले भत्किएको काष्ठमण्डप निर्माणका लागि यही वैशाख १२ गते घोषणा गर्ने तयारी गरिएको छ । काष्ठमण्डप पुनःनिर्माणको लागि गठन गरिएको ‘काष्ठमण्डप पुनःनिर्माणको लागि अभियान’ ले भूकम्प गएको दुई वर्ष पुगेको दिन पारेर निर्माणको घोषणा गर्न लागेको हो ।
“भूकम्प गएको दुई वर्ष पुगेको दिन १२ गते हाम्रो सम्पदा काष्ठमण्डप बनाऔं भन्ने प्रण गर्दैछौँ,” अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भने, “यो अभियानमा काठमाडौं महानगरपालिका र पुरातत्व विभागले पनि सहयोग गरोस् ।”
उनले विश्वकै एकमात्र काष्ठमण्डप निर्माणका लागि सरकारले चासो नदेखाएको गुनासो गर्दै भने, “विश्वका जुनसुकै ठाउँमा रहेको धरहरा बनाउन सबैको चासो छ । प्रधानमन्त्री र कर्मचारीहरुले आफ्नो तलब नै काटेर बनाउने हल्ला भयो तर हाम्रो देशमा मात्रै रहेको काष्ठमण्डप बनाउन चासो कसैले पनि देखाउँदैन । किन ढिलो भइरहेको छ ?”
पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले संसारमा लोप भइसकेका पौराणिक सम्पदा नेपालमा पाइने गरेको भन्दै यस्ता सम्पदालाई जोगाउनुपर्नेमा जोड दिए ।
“कायरो, जाकार्ता, बनारस र काठमाडौं विश्वकै प्राचीन सहरमध्येको एक भनेर जापानी टेलिभिजन एनएचके टिभीले प्रसारण गरेको थियो,” माथेमाले भने, “काठमाडौं पनि पर्नुको कारण काष्ठमण्डपजस्ता प्राचिन सम्पदा भएकै कारण हो । यस्ता सम्पदा जोगाउनु राज्य र हामी स्थानीयको कर्तव्य र दायित्व हो ।”
उनले स्थानीय स्तरबाट सम्पदा बनाउँदा झनै जनताले स्वामित्वको महसुस गर्ने हुँदा प्रभावकारी हुने बताए । स्वामित्व बेगरका सम्पदा अलपत्र पर्नेभन्दै शिक्षाविद् माथेमाले विश्वकै अद्भूत सभ्यता काष्ठमण्डप पौराणिक मान्यतालाई पनि कायम राख्दै पुनःनिर्माण गर्नुपर्ने बताए ।
“भूकम्पले क्षति पुर्याएका सम्पदा कसरी निर्माण गर्ने भन्ने अन्योल कायमै छ, विदेशीले सहयोग गर्दा उनीहरुको आफ्नो मौलिकपनअनुसार बनाउने दबाब दिने सम्भावना रहन्छ । त्यसैले हामीले आफैंले बनायौं भने हाम्रो पौराणिक मूल्यमान्यता कामय राख्न पनि सहज हुन्छ,” माथेमाले भने, “काष्ठमण्डप हामी आफैंले आर्थिक तथा श्रमदानमार्फत बनायौं भने सबैभन्दा राम्रो विकल्प हो ।”
प्रसिद्ध वास्तुविद् प्रा.डा. सुदर्शनराज तिवारीले युनेस्कोको मापदण्डमा नअल्झिएर आफ्नै मौलिकता अनुसार पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । “पहिला हामीले बनाएको सम्पदालाई उसले आफ्नो मापदण्डभित्र पारेको हो । त्यसैले युनेस्कोको मापदण्डभित्र पर्छ कि पर्दैन भनेर डराउनु पर्दैन,” तिवारीले भने, “हामीले बनाए अरुलाई यो नजिर हुन्छ र पुनः निर्माणले गति लिन्छ ।”
भत्किएको सम्पदा बन्नुपर्छ भन्ने मान्यता भन्दा पनि पौराणिक कालखण्डका सबै सांस्कृतिक तथा धार्मिक मान्यतालाई मान्यता दिने र स्थापित गर्ने गरी काष्ठमण्डप निर्माण हुुनुपर्ने तिवारीकोे धारणा छ ।
काष्ठमण्डप पुनर्निर्माण अभियानका सचिव गोविन्द अधिकारीले स्थानीय स्रोत र साधन तथा जन श्रमदानबाट काष्ठमण्डप बनाउन सके अबको ५० वर्षसम्मको पुस्ताले अपनत्व महसुस गर्ने बताए ।
“स्थानीयकै सक्रियतामा बनाउन सकियो भने आउँदो पुस्तासम्मका लागि काष्ठमण्डप मेरै हो है भन्ने अपनत्व महसुस हुन्छ । यसको फाइदा भनेको संरक्षण र सम्वद्र्धनमा हुन्छ,” अधिकारीले भने, “विश्वभर कतै नरेहको काष्ठमण्डप नेपालकै गौरव हो । यो तत्काल निर्माण गर्नुपर्छ ।”
उनले अभियानमा राज्यसँगै सबैले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे ।

Pin It

About the author

Nitu Vaidya

No description.Please update your profile. View Author Profile

Leave Comments